Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, चितवन

भरतपुर

Visit Nepal 2020 - Ministry of Home Affairs

परिचय

करिब छ दशक अघिसम्म औँलोको घरको रुपमा चिनिने चितवन जिल्ला मानव बसोबासको लागि प्राथमिकतामा परेको थिएन । तर हाल नेपालका सतहत्तरै जिल्लाका मानिसहरु बसाइसराई गरि यस जिल्लमा आइ बसोबास गर्ने गरेको पाइन्छ । यसर्थ चितवन विभिन्न जातजाती, भाषाभाषी र संस्कृतीको विविधतामा एकता भएको जिल्लाको रुपमा चिनिन्छ । यहाँ एकातिरको मैदानी भागमा बर्षौँदेखि बसोवास गर्दै आएका आदिवासी थारु जाति छन् भने अर्कोतिर पहाडी क्षेत्रमा अर्को आदिवासी चेपाङ जाती रहेका छन् । यिनै विविधताको कारणले गर्दानै आन्तरिक  एवम् बाह्य पर्यटनको हिसाबले समेत यस जिल्ला अग्रणी स्थानमा रहेको छ । सौराहा, मेघौली, टाइगरटप्, चितवन राष्ट्रिय निकुञ्ज, नारायणी, त्रिशुलीमा गरिने जलविहार बाह्य पर्यटनका आकर्षणको रुपमा रहेका छन् भने देवघाट, त्रिवेणी, वाल्मीकि आश्रम, गोद्धाक, विक्रमबाबा, वागेश्वरी, चित्रसारी, जस्ता धार्मिक स्थलहरु धार्मिक एवम् आन्तरिक पर्यटनको केन्द्रहरु बन्दै आएका छन्  । त्यस्तै चितवन जिल्ला नेपालको राजधानी काठमाण्डौसंग जोड्ने निकटतम राजमार्ग र पूर्व पश्चिम राजमार्गको संगमस्थलको रुपमा रहेको छ । जसबाट कृषि, व्यापार, उद्योग, पर्यटन लगायका क्षेत्रमा समेत चितवनले प्रशिद्ध कमाएको छ ।

चितवन जिल्लाकाे नामाकरण :

१. चित्रसेनको नामवाट यस स्थानको नाम चितवन भएको कुरा चितवन जिल्लाका आदिवासी भनिने थारु जातिका जानकार हरु बताउछँन् । चित्रसेन नामक राजावाट चित्रसारी हुँदै अन्त्यमा चितवन नाम रह्यो भन्ने धारणा छ ।

२. पहिले चितवनमा धेरै चितुवा पाइन्थे भनिन्छ अनि चितवनमा चार कोसे झाडी(वन) पनि थियो रे जसले गर्दा चितुवा वन भन्न थालियो जुन अपभ्रंस भएर चितवन हुनपुग्यो ।

३. त्रेता युगमा देवी सीताको वनवास यही भएको मानिन्छ । सीताको वास भएको वन भनरे “सीतावन” भनिने गरेको हुनाले कालान्तरमा आएर सीतावनवाट चितवन हुन गएको विश्वास गरिन्छ । वाल्मीकि आश्रम यही रहनु र सीताप्रवासका लक्ष्यण पनि यहीनै देखिएकाले र भाषाविज्ञानको दृष्टीमा “सीतावन” नै शास्त्र सन्निकट रहेको मानिएकाले उक्त तकर्मा सत्यता भएको विश्वास गरिएको छ ।

चितवन जिल्लाको भौगोलिक अवस्थिति

नेपालको मध्य भागमा अबस्थित चितवन जिल्ला लगभग समकोण त्रिभजुको आकारमा रहको छ । पुर्व तथा दक्षिण तर्फ फराकिलो र पश्चिम तथा उत्तरतर्फ सागुरिएको चितवन जिल्ला नारायणी नदीको पूर्वी भागमा भित्री मधेश र राप्ति उपत्यकाको नामले समते परिचित छ । २२३८.३९ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस जिल्ला विश्व मानचित्रमा २७२१’४५” उत्तरी अक्षांश देखि २७५२’३०” उत्तरी अक्षांशसम्म र ८३५४’४५” पुर्वी देशान्तर देखि ८४४८’ ५” पुर्वी देशान्तरसम्ममा अबस्थित छ । समुद्रि सतहवाट १४४ मिटर देखि १९४७ मिटरको उचाईमा रहेको यस जिल्ला तराईको भावर प्रदेश देखि महाभारत पर्वत सम्म फैलिएको छ । यस जिल्लाको पुर्व तर्फ मकवानपुर र पर्सा, पश्चिम तर्फ नवलपरासी र तनहूँ, उत्तर तर्फ गोर्खा र धादिङ्ग जिल्लाहरु पर्दछन् भने दक्षिण तर्फ भारतको उत्तर प्रदेश र विहार राज्य पदर्छ । यो जिल्लाको उत्तरी विन्दु इच्छाकामना गाउपाँलिकाको कुरिनटार, दक्षिणविन्दु माडी न.पा. को वाँदरझुला, पूर्वी विन्दु राप्ती नगरपालिका (साविक लोथर गा.वि.स.)को चौरस डाँडा र पश्चिमी विन्दु चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीको किनारी भागहरु पदर्छन् । जिल्लाको पूर्व पश्चिम लम्वाई वढीमा ८८ कि.मि रहेको छ भने उत्तर दक्षिण चौडाई वढिमा ५० कि.मि र कम्तिमा २ कि.मि. रहेको छ ।

राजनैतिक र प्रशासनिक विभाजन

प्रदेश नं. ३ अन्तर्गत पर्ने चितवन जिल्लामा एक गाउँपालिका, एक महानगरपालिका र पाँच नगरपालिका गरी जम्मा सात वटा स्थानीय तह रहेको छ भने निर्वाचन क्षेत्रको आधारमा तीन वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र छ वटा प्रदेश सभा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । सात वटा स्थानीय तह मध्ये क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो भरतपुर महानगरपालिकाको क्षेत्रफल ४३२.९५ वर्ग कि.मि. र सबैभन्दा सानो रत्ननगर नगरपालिकाको क्षेत्रफल ६८.६८ वर्ग कि.मि. रहेको छ । त्यस्तै एकमात्र इच्छाकामना गाउँपालिकाको क्षेत्रफल १६६.७३ वर्ग कि.मि. रहेको
छ ।

चितवन जिल्ला सम्बन्धी केही महत्वपुर्ण जानकारी 

अवस्थिति:

अक्षांश : २७२१’४५” देखि २७५२’३०” उत्तरी अक्षांश

देशान्तर : ८३५४’४५” देखि ८४४८’ ५” पुर्वी देशान्तर

सिमाना:

                पूर्व : मकवानपुर र पर्सा जिल्ला

                पश्चिम : नवलपुर र तनहुँ जिल्ला

                उत्तर : गोरखा र धादिङ जिल्ला

                दक्षिण : भारतको विहार राज्य र उत्तर प्रदेश

जिल्लाको क्षेत्रफल : २२३८.३९ वर्ग कि.मि

प्रदेश : ३ नं.

समुद्र सतहदेखि उचाइ : १४४ मिटर देखि १९४७ मिटर

हावापानी : समशितोष्ण र उष्ण हावापानी

जलभण्डार:

पहिलो स्तरको नदी : नारायणी(नेपालको सबैभन्दा गहिरो)

अन्य स्तरका नदीहरु : राप्ती, लोथर, रिउ, कायर खोला, रिग्दी

ताल तथा कुण्डहरु : बीसहजारी ताल, सत्रहजार ताल, सत्ताइसहजार ताल, अठ्ठाइस हजार ताल, नन्दभाउजु ताल, तमोरघैला ताल, कसरा ताल, मन्जुरा ताल, अन्जुरा ताल, गडुवा ताल, मुण्डा ताल, देवी ताल, बैकुण्ठ ताल, अन्जना ताल, परशुराम कुण्ड आदि ।

ऐतिहासिकधार्मिक तथा पर्यटकीय स्थलहरु : देवघाट, बागेश्वरी, गणेशस्थान, शिवघाट, त्रिवेणी, गोद्धक, पाण्डवनगर, सोमेश्वर कालिका, बिक्रमबाबा, चित्रसारी, जुट्पानी कालिका, उपरदाङगढी, चितवन राष्ट्रिय निकुञ्ज, सौराह, कुरिनटार, पुराने गढी, सोमेश्वर गढी, कविलासपुर गढी, सिराईचुली

मुख्य बजार केन्द्रहरु : नारायणगढ, टाँडी, पर्सा, खैरहनी, पर्साढाप, मुग्लिन, चनौली, रामपुर, मंगलपुर, जगतपुर, गितानगर, शिवनगर, भण्डारा, कुरिनटार, वसन्तपुर, बरुवा बजार, पटिहानी, पार्वतीपुर, शारदानगर, मेघौली आदि।